प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे संसदमा जानकारी दिनुपर्दछ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारत भ्रमणमा भएका उपलब्धिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा जानकारी गराउन सभामुखबाट रुलिङको माग गर्नुभएको छ ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले भारत भ्रमणबाट फर्किएपछि विमानस्थलमा आएर बोलेपनि संसद्मा औपचारिक रुपमा जानकारी गराउनुपर्ने बताउनुभयो।

‘भर्खरै प्रधानमन्त्री दिल्ली गएर आउनुभयो, हिजो आएर उहाँले एयरपोर्टमा बोलेको कुराहरू अखबारमा हेरेँ, कुनै विषय बाँकी छैन, हाम्रो सम्बन्ध मित्रतापूर्ण रुपमा अघि बढेको भन्नुभएको थियो। यसअघि पनि यस्तै–यस्तै भन्नुहुन्थ्यो,’ सांसद पन्तले भन्नुभयो,‘तर, सीमाको समस्या त्यतिकै छ, इपीजीको प्रतिवेदन त्यतिकै छ, भारतसँग थाति रहेका समस्याहरू जस्ताको तस्तै छ। त्यसैले सभामुखज्यूबाट रुलिङ हुनुपर्छ।’

‘प्रधानमन्त्रीले बोलेर आएको चिज बोल्ने पहिलो ठाउँ भनेको संसद् हो, उहाँको भारतीय प्रधानमन्त्रीसँग के–के विषयमा द्वीपक्षीय, बहुपक्षीय हितका, सार्कका विषयमा, नेपाल र भारतकाबीचमा बाँकी रहेका विभिन्न समस्या समाधान गर्ने विषयमा अखबारमा मात्रै होइन, आजै संसद्लाई सम्बोधन गरेर भारत भ्रमणबारे जानकारी दिनुपर्थ्यो। त्यसैले सभामुखज्यूको ध्यानाकर्षण गर्छु, रुलिङ होस् प्रधानमन्त्रीज्यूको,’ सांसद पन्तले भन्नुभयो।

Back to top button