शिक्षकको ‘डीएनए परीक्षण’ गर्नु राम्रो होइन : देवेन्द्र पौडेल

काठमाडौं । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले शिक्षकको ‘डीएनए परीक्षण’ गर्नु राम्रो नभएको बताउनुभएको छ । उहाँले शिक्षकको राजनीतिक अवद्धता नखोज्न वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह समेत गर्नुभयो । पूर्व शिक्षामन्त्रीसमेत रहनुभएका पौडेलले बरु शिक्षकले विद्यालय समयमा कस्तो शिक्षण गरेको छ भनेर अनुगमन र नियमन गर्न आग्रह गर्नुभयो ।

आज प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले शिक्षकको राजनीतिक आवद्धता खोजेर गाली गर्ने काम उचित नभएको बताउनुभयो ।

‘आजकल शिक्षकलाई गाली गरेपछि विद्यालय सुधिन्छ कि भन्ने तर्क गरिन्छ । ड्राइभरलाई गाडी चलाउँदा राम्रो गरिनस् भनेर गाली गर्दा राम्रोसँग गाडी चलाउँछ र ?’ उहाँले प्रश्न गर्नुभयो ।

यस्तै, शिक्षामन्त्री श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउनुभएको छ । उहाँले शिक्षा विभाग र जिल्ला शिक्षा समन्वय इकाइबाट समेत राजनीतिमा आवद्ध शिक्षकहरुको विवरण र कारबाही प्रक्रियाबारे जानकारी माग गर्नुभएको छ ।

यो पृष्ठभूमिमा सत्ताको नेतृत्वकर्ता दल माओवादीका नेता पौडेलले त्यो आवश्यक नरहेको तर्क गर्नुभयो । पौडेलले बुटवलको कालिका मानवज्ञान मावि, चितवनको नारायणी मावि, मोरङको शुक्ला मावि, काठमाडौंको ज्ञानोदय माविको नाम लिँदै ती उत्कृष्ट सामुदायिक विद्यालयलाई अहिलेको अवस्थामा पुर्‍याउन राजनीतिक दलमा आवद्ध शिक्षकहरुकै भूमिका रहेको आशय व्यक्त गर्नुभयो ।

‘त्यो विद्यालयलाई त्यहाँ पुर्‍याउनेहरुको पृष्ठभूमि हेर्नुभयो भने अर्कै देखाउँछ । त्यसो भएर यो आरोप सही छैन’, उहाँले अगाडि भन्नुभयो,‘शिक्षकहरुको अनावश्यक रुपमा डीएनए परीक्षण गर्दै हिँड्ने कुरा राम्रो छैन । ट्रेड युनियन अधिकार विपरीत हुन्छ ।’

शिक्षामन्त्री श्रेष्ठलाई तीन काम गर्न पूर्वमन्त्री पौडेलले सुझाव दिनुभयो । ‘खाली विद्यालय समयमा शिक्षकले गरेको पठन–पाठनमा ध्यान दिने हो । भौतिक पूर्वाधारमा सुधार, शिक्षण सिकाइमा सुधार र कानुनमा सुधार, यी तीन कुरामा सुधार ध्यान दियो भने विद्यालय शिक्षामा सुधार हुन्छ’, उहाँले भन्नुभयो ।

पौडेलले शिक्षकको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई खुशी बनाउन शिक्षामन्त्रीले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । ‘अरु कुरामा बहकाउमा नलागेर शिक्षकलाई इम्पावर गर्ने, शिक्षकलाई खुसी बनाउने, शिक्षकलाई खुसी बनाएर विद्यालय पुर्‍याउने, दरबन्दी पुर्‍याउने, सिकेको छैन भने तालिम दिएर सक्षम बनाएर विद्यालय पुर्‍याउने नै मन्त्रालयको काम हो’ पौडेलले भन्नुभयो ।

Back to top button