राष्ट्रिय प्रतियोगितामा एभरेष्टका सुशान्त दोस्रो

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका सुशान्त मेहेता पोखरामा जारी राष्ट्रिय खेलकुद प्रतियोगितामा दोस्रो हुन सफल हुनुभएको छ ।

मेहेता कोशी प्रदेशको प्रतिनिधित्व गर्दै अन्डर–१५ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसको ब्वाईज सिंगल्समा दोस्रो हुनुभएको हो । ब्वाइज सिंगल्सको फाइनल खेलमा बागमती प्रदेशका जयस्नु महर्जनसँग ८–११, ११–५, ११–७, ११–६ को स्कोरले पराजित भएपछि मेहता दित्तिय हुन पुग्नुभएको हो ।

सोही इभेन्टमा कोशी प्रदेशका गौतम तामाङ तृतिय हुनु भएको छ । गर्ल्स सिङल्सतर्फ भने बागमतीकी नर्मदा खाइतुले कोशी प्रदेशकी सुलेखा कुमारी ठाकुरलाइ ११–९, ४–११, ११–५, १३–११ सेट स्कोरले पराजित गर्दै बिजेता बन्नु भयो । यस्तै मिक्स डबल्स इभेन्टमा कोशी प्रदेशका गौतम तामाङ र सुलेखा कुमारी ठाकुरको जोडीले काँस्य पदक प्राप्त गरेको छ ।

प्रतियोगिता अन्तर्गत टेबल टेनिसको समग्रमा कोशी प्रदेश २ रजत र २ कास्य पदक सहित उपविजेता बनेको छ । प्रतियोगितामा बागमती प्रदेश प्रथम हुँदा लुम्बिनी प्रदेश तृतीय भएको टेबल टेनिस संघका केन्द्रीय सदस्य अनुज बानियाँले बताउनुभयो ।

सातै प्रदेशको प्रतिनिधित्व रहेको उक्त प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै मेहतासँगै चार जना छात्र र चार जना छात्राले भाग लिनुभएको थियो । मेहता भने कोशी प्रदेशबाट प्रथम हुँदै राष्ट्रिय प्रतियोगितामा जानुभएको हो ।

कोशीबाट टेबलटेनिसका लागि छात्र तर्फ मेहता संगै यथार्थ आचार्य र छात्रा तर्फ विज्ञता थापा र मानसी सेठिया (मोरङ) तथा छात्र तर्फ गौतम तामाङ र स्वर्णिम कार्की र छात्रा तर्फ सुलेखा कुमारी ठाकुर र सुधा पोखरेल (सुनसरी) छनौट हुनुभएको थियो । पोखरामा जारी अण्डर–१५ विद्यालय खेलकुद प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, ब्याडमिन्टन, बुद्दिचाल, रग्वी र बास्केटबलका विभिन्न स्पर्धाहरू भएका छन् ।

Back to top button