दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

विराटनगर । आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको छ । यो सँगै नेपालको सुपर–८ यात्रा पनि समाप्त भएको छ ।

नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौका र चौथो बलमा दुई रन जोड्नुभएको थियो । दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले डट राख्न सफल हुनुभयो ।

अन्तिम बलमा गुलशन नन स्ट्राइकमा रन आउट हुनुभयो । ११६ रनको विजय लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो ।

नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाउनुभयो । सुरुवातमै कागिसो रबाडाले उहाँको क्याच १ रनमा छोड्नुभएको थियो । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७.२ ओभरमा ३४ रनको साझेदारी गर्दै राम्रो सुरुवात गर्नुभएको थियो ।

कुशल भुर्तेल २१ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । रोहित पौडेल शून्यमा बोल्ड आउट हुनुभयो । अनिल साह २४ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा क्याच आउट हुनुभयो ।

तेस्रो विकेटका लागि आसिफ र अनिलले ३६ बलमा ५० रनको साझेदारी गर्नुभयो । दीपेन्द्र ६ रनमा आउट हुनुभयो । सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाउनुभयो । दक्षिण अफ्रिकाका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिनुभयो ।

त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाउनुभयो ।

नेपालको उत्कृष्ट स्पिन बलिङ आक्रामण सामु दक्षिण अफ्रिकाका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर क्विन्टन डि कक १०, एडेन माक्ररम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ र ट्रिस्टन स्टब्सले २७ रन बनाउनुभयो ।

नेपालका कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिनुभयो ।

Back to top button