दक्षिण अफ्रिकाबाट नेपालले पायो ११६ रनको लक्ष्य 

काठमाडौं । ईसीसी टि–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाबाट ११६ रनको लक्ष्य पाएको छ ।

आज वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा स्पिनर चम्किएपछि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर ब्याटिङ गर्दा सात विकेट गुमाएर ११५ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाउनुभयो । दीपेन्द्रसिंह ऐरीबाट ‘कट एन्ड बोल्ड’ हुनुअघि उहाँले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गर्नुभयो ।

ट्रिस्टान स्टुब्सले २७ रन बनाउनुभयो । कप्तान आइदेन मार्करमले १५ र क्विन्टन डी ककले १० रन बनाउनुभयो । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न नेपालबाट ७ विकेट नै स्पिन बलरले लिए । नेपालका कुशल भुर्तेलले ४ विकेट लिनुभयो । ४ ओभर बलिङ गर्नुभएका भुर्तेलले १९ रनमात्र खर्चिनुभयो । दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिनुभयो । ४ ओभर बलिङ गर्नुभएका दीपेन्द्रले २१ रनमात्र खर्चिनुभयो ।

यसबाहेक, किफायती बलिङ गर्नुभएका सन्दीप लामिछानेले विकेट नलिए पनि ४ ओभरमा १८ रनमात्र खर्चिनुभयो ।

Back to top button