बंगलादेशसँग नेपाल २१ रनले पराजित

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ ।

केवल १ सय ७ रनको लक्ष्य पाएको नेपालले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो । २६ रनमा ५ विकेट गुमाएको नेपालले छैटौँ विकेटका लागि ५२ रनको साझेदारी गर्दै जितको सम्भावना देखाएको थियो ।

यस्तै, १७ औँ ‌ओभरको चौथो बलमा कुशल मल्ल छैटौँ विकेटका रुपमा आउट हुँदा नेपालले ७८ रन जोडेको थियो । नेपाललाई अन्तिम ३ ओभरमा २९ रन चाहिएको थियो।

१८ औँ ओभरको पहिलो बलमा दीपेन्द्रले छक्का प्रहार गरेपछि खेलमा नेपाल बलियो बनेको थियो। तर, उक्त ओभरको पाचौँ बलमा गुल्सन झा गोल्डेन डक आउट हुनुभयो ।

१९ औँ ओभर मुस्ताफिजुर रहमानले विकेट मेडन फ्याँक्नुभयो । सुरुका ५ बलमा रन नदिनुभएका मुस्ताफिजुरले अन्तिम बलमा दीपेन्द्रलाई आउट गर्नुभएको थियो।

त्यसपछि लगातार २ बलमा नेपालले २ विकेट गुमाएर अलआउट भएको थियो। नेपालका लागि कुशल मल्लले ४० बलमा २७ र दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २५ रन जोड्नुभयो ।

अनिल शाह, गुल्सन झा, सोमपाल कामी, अविनाश बोहराले खाता खोल्न सक्नुभएन् । सन्दीप लामिछाने शून्यमा नटआउट रहनुभयो । रोहित पौडेल र सन्दीप जोराले १–१ रन बनाउनुभयो भने आसिफ शेखले १७ र कुशल भुर्तेलले ४ रन जोडेर आउट हुनुभयो ।

बंगलादेशका तान्जिम हसन सकिबले ४ ओभरमा २ मेडन राखेर ७ रन खर्चँदै ४ विकेट लिनुभयो । मुस्ताफिजुर रहमानले ४ ओभरमा १ मेडन राखेर ७ रन खर्चँदै ३ विकेट हात पार्नुभयो । २ दशमलव २ ओभर बलिङ गरेका सकिब अल हसनले ९ रन दिएर २ विकेट लिनुभयो ।

तान्जिमको घातक बलिङपछि नेपाल २६–५ को स्थितीमा पुगेको थियो। अघिल्लो खेलमा पनि नेपालले दक्षिण अफ्रिकालाई १ सय १५ रनमा सिमित गरेर पनि जित हात पार्न सकेको थिएन।

नेपाल एक रनले पराजित भएको थियो । नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म टेस्ट मान्यताप्राप्त टोलीलाई हराउन सकेको छैन।

Back to top button