विराटनगर महानगरद्वारा आयोजित परिवार संवाद कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाले कोकनसँगको सहकार्यमा आयोजना गरेको लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सम्पन्न भएको छ । गत वैशाख २५ गतेबाट सुरु भएको पविार संवाद असार ३ गते सम्पन्न भएको हो ।

करिब डेढ महिना सञ्चालन भएको कार्यक्रममा ३५ जोडी सहभागी भएका थिए । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा परिवार संवाद कार्यक्रमको समापन गरिएको हो ।

विराटनगर वडा नम्बर ८ सुकुम्बासी बस्ती र बलुवाहीमा सञ्चालित परिवार संवादमा सहभागी गरिब तथा विपन्न र दलित समुदायका जोडीहरुलाई कोकनका सहजकर्ता उदीप मण्डल र ईश्वरी खड्काले प्रशिक्षण दिनुभएको थियो ।

सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्युनीकरण गर्ने उद्देश्यले महानगरले साझा सवालका लागि साझा मञ्च (कोकन)सँगको सहकार्यमा परिवार संवाद सञ्चालन गरेको थियो ।

यसरी परिवार संवाद आयोजना गर्दा श्रीमान–श्रीमतीबीचको सम्बन्ध सुमधुर भई परिवारमा शान्ति छाउने आयोजकले विश्वास लिएको छ । पछिल्लो समय सामान्य विषयलाई लिएर पनि सम्बन्धविच्छेदका घटना बढ्दै जानुका साथै परिवारमा हिंसासमेत हुने गरेको पाइएको छ । यस्ता कार्यक्रमले लैंगिक हिंसा न्युनीकरण हुनुका साथै परिवारमा हुने बेमेलसमेत कम हुने मेयर कोइरालाको भनाइ छ ।

आगामी दिनमा पनि परिवार संवादलाई अझै व्यापक बनाउन लगिने उहाँले बताउनुभयो । श्रीमान र श्रीमतीलाई बेग्लाबेग्लै राखेर सम्झाउनुका साथै दुवैजनाको दायित्वका विषयमा समेत जानकारी गराउने गरेको कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालनपछि परिवारमा सुमधुर सम्बन्ध भई सम्बन्धविच्छेदमा कमी आउने, एकअर्काको भावना बुझ्ने, मदिरा सेवन गर्ने क्रममा कमी आउने, दुव्र्यसनीमा नफस्ने, आर्थिक बोझ कम हुने र लैंगिक विभेद न्युनीकरण हुने उहाँको भनाइ थियो ।

आर्थिक अभाव, वैदेशिक रोजगारी, मदिरा सेवनलगायतका कारणले परिवारमा समस्या देखिने गरेको महानगरकी महिला तथा
बालबालिका शाखा प्रमुख मञ्जु लोहनीले बताउनुभयो । यस्ता कार्यक्रमले श्रीमान–श्रीमती मात्रै नभएर परिवारबीचको सम्बन्ध सुमधुर भई सुखी र खुसी पारिवारिक जीवन व्यतीत गर्न सहयोग पुग्ने उहाँले दाबी गर्नुभयो ।

वडाध्यक्ष सदस्य भुवन राजवंशीले कार्यक्रम सञ्चालनपछि वडामा पारिवारिक विवाद कम हुने विश्वास व्यक्त गर्नुभयो । विराटनगर वडा नम्बर ८ मा ३५ जोडीलाई बेग्लाबेग्लै राखेर १० पटक कार्यक्रम सञ्चालन गरिएको कोकन मोरङका फिल्ड सुपरभाइजर अशोक थापा मगरले जानकारी दिनुभयो ।

त्यसपछि ३५ जोडीमध्येबाटै श्रीमान–श्रीमती दुवैजनासहित परिवारका अन्य दुई सदस्यलाई राखेर दुई चरणमा परिवार संवाद कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

Back to top button