मोरङमा चट्याङ लागेर किशोरीको मृत्यु, घरमा आगलागी

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियामा चट्याङले लागेर आज बिहान एकजना किशोरीको मृत्यु भएको छ ।

अविरल वर्षासँगै परेको चट्याङले १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घरमै बसिरहेका बेला बिहान ७ः३० बजेतिर चट्याङ लागेर विपना गम्भीर घाइते हुनुभएको थियो ।

चट्याङ लागेर बेहोस हुनुभएकी विपनालाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ ८ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ ।

यस्तै, धनपालथान गाउँपालिका–७ कदमाहस्थित एउटा घरमा चट्याङ परेर आगलागी भएको छ । रामा केवरतको घरमा बिहान ४ः३० बजेतिर आगलागी भएको डीएसपी बस्नेतले बताउनुभयो।

उहाँका अनुसार चट्याङ पर्नासाथ सुरु भएको आगोले बाँसको टाटीले बारेको र टिनको छानो भएको १ तले घर पूर्णरूपमा जलेको छ । घरभित्र रहेका सामान पनि जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

स्थानीयको सहयोगमा प्रहरीले एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । घटनामा मानवीय र चौपाया क्षति भने नभएको जानकारी प्रहरीले दिएको छ ।

Back to top button