प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री चुनौं : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको राज्य संरचना र निर्वाचन प्रणाली देशले थेग्न नसक्ने बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सार्नुभयो । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएपछि सरकार ढाल्ने खेलको अन्त्य हुने उहाँको भनाइ छ ।

‘सबै माननीय सदस्य र दलका नेताहरूलाई आग्रह गर्न चाहन्छु। यो राज्य संरचना र यो निर्वाचन प्रणाली देशले थेग्न सक्दैन। हामी सबैलाई थाहा छ यो निर्वाचन प्रणालीमा यस्तै हुन्छ। आज मन्त्री एउटा निर्वाचन क्षेत्रको हुने, प्रधानमन्त्री एउटा निर्वाचन क्षेत्रको हुने। आज प्रधानमन्त्रीलाई गोरखा २ भए पुग्छ। अरु मन्त्रीलाई आ–आफ्नो निर्वाचन क्षेत्र भए पुग्छ।

जबसम्म यो निर्वाचन प्रणाली परिवर्तन हुँदैन तबसम्म यो मुलुकले निकास पाउँदैन। जनताले निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको बाटोमा जानुपर्छ। अनि यो सरकार ढलाउने र एउटा दलले अर्को दललाई चाकरी गरी हिँड्ने दिनको अन्त्य हुन्छ। बजेट पनि यसरी आउँदैन। प्रधानमन्त्री दलको हुँदैन जनताको प्रधानमन्त्री हुन्छ,’उहाँले भन्नुभयो,‘जनताको मत लिने भइसकेपछि प्रधानमन्त्री निर्वाचन क्षेत्रको नभइ जनताको हुन्छ । योभत्ता निर्वाचन प्रणाली र राज्य संरचना बोकेर देशप्रति बेइमानी नगरौं।’

लिङ्देनले संसदको हलभित्र रहेका जुनसुकै पार्टीको भएपनि ४ वटा निर्वाचन क्षेत्रबाहेकका सांसदहरुको बजेटमाथि आक्रोश नै रहेको बताउनुभयो । उहाँले पहुँचका भरमा राज्यको स्रोतमाथि खेलबाड गरेको आरोप लगाउनुभयो ।

Back to top button