मन्त्री एउटा जिल्लाको मात्र नभइ देशकै हुन सक्नुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले मन्त्री र सांसद एउटा निर्वाचन क्षेत्र वा जिल्लाको मात्र नभई सिंगो देशको हुन सक्नुपर्ने बताउनुभएको छ । आज प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफल गर्दै उहाँले भौतिक पूर्वाधार मन्त्रालयमाथि सांसदहरुले उठाएका प्रश्नबारे संक्षिप्त प्रतिक्रियामात्र दिनुभयो ।

आज भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि धारणा राख्ने क्रममा सांसदहरुले उपप्रधानमन्त्री रघुवीर महासेठले आफ्नो निर्वाचन क्षेत्र रहेको धनुषा, एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र गोरखामा धेरै बजेट विनियोजन गरेको आरोप लगाउनुभएको थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त रोष्ट्रममै बजेट पुस्तिका च्यातेर विरोध जनाउनुभएको थियो । यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सिंगो कर्णालीमा भन्दा धनुषा जिल्लामा बढी बजेट परेको भन्दै विरोध जनाउनुभएको थियो ।

एमालेका सांसद रघुजी पन्तले आफ्नै दलबाट मन्त्री बनेका महासेठको मन्त्रालयको बजेटबारे धेरै टिप्पणी गर्न चाहनुभएन् । त्यसबारे संक्षिप्त अघिव्यक्ति दिनुभएका पन्तले भन्नुभयो,‘मन्त्री एउटा निर्वाचन क्षेत्र र एउटा जिल्लाको मात्र हुँदैन, ऊ सिंगो देशको हुन्छ ।’

विभिन्न लिंग, जाति, समुदाय र क्षेत्रको प्रतिनिधित्व गर्ने र प्रत्यक्ष निर्वाचित सांसदहरु पनि सिंगो देशको हुने भन्दै पन्तले त्यो कुरा उनीहरुले आफ्नो काम र अभिव्यक्तिमा देखाउन सक्नुपर्ने बताउनुभयो । ‘त्यो यो सिंगो देशलाई बोक्ने ल्याकत देखाउन सकिन्छ कि सकिँदैन त्यो आफूमा भर पर्ने कुरा हो, त्यो तपाईं हाम्रो कामले सांसदको अभिव्यक्तिले र मन्त्रीका कामहरुले ती कुराहरु व्यक्त गर्छ’, उहाँले भन्नुभयो ।

Back to top button