नेपालमा पहिलो पटक सहकारी रोजगार मेलाको आयोजना हुँदै

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा नेपालमा पहिलो पटक सहकारी क्षेत्रमा रोजगार मेला आयोजना हुने भएको छ । महासंघले आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै असार ७ गतेदेखि ९ गतेसम्म ललितपुरमा प्रथम सहकारी रोजगार मेला आयोजना हुने जनाएको हो ।

मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ आयोजना गर्न लागिएको मेलाको ५ हजार बढीले अवलोकन गर्ने अपेक्षा गरेको महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिनुभयो। हाल ३१ हजारभन्दा बढी सहकारी संघ–संस्थामार्फत १ लाखलाई प्रत्यक्ष रोजगारी र लगभग १० लाखलाई स्वरोजगार सिर्जना गर्न सफल रहेको यस क्षेत्रको भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

यस्तै, मेलाको आयोजनाले प्रतिभा पलायन रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्न तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने अध्यक्ष मल्लले बताउनुभयो ।

मेलामा रोजगारदाताका स्टलहरु रहने र सहकारीमार्फत उद्यमी बनेकाहरुका उत्पादनलाई समेत स्थान दिइएको आयोजकले जनाएको छ ।

Back to top button