प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग आज प्रश्नोत्तर हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । आज बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

प्रश्नोत्तरका लागि सांसदहरूले सभामुखमार्फत आफ्ना प्रश्न ३ दिनअगावै प्रधानमन्त्री कार्यालयलाई दिइसकेका छन्। सभामुखले हरेक समूहमा १५ जना सांसद रहने गरी १७ समूहमा विभाजन गरेका छन्। यसअघि पनि प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गरिएको थियो।

तर, पछिल्लो समयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कर्मकाण्डी र औपचारिकतामा सीमित हुँदै गएको सांसदहरुको गुनासो रहेको छ। सांसदहरूले गरेको प्रश्नलाई प्रधानमन्त्रीले छल्ने गरेको र दिएको जवाफ अनुसार कार्यान्वयनसमेत हुन नसकेको सांसदहरूको गुनासो छ। हालसम्म ६ पटक मात्रै प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको छ ।

Back to top button