नेकपा एमालेका सबै जनसंगठन विपद व्यवस्थापनको पूर्व तयारीमा

विराटनगर । नेकपा एमाले मोरङका सबै जनसंगठनहरु वर्षासँगै आउने विपद व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन् ।

नेकपा एमाले मोरङमा बसेको जनसंगठन समन्वय सम्यन्त्रको बैठकले वर्षा याममा हुन सक्ने जनधनको क्षती न्यूनिकरणमा सक्रिय हुने निर्णय गरेको हो ।

संयन्त्रका प्रमुख रबिन थापाको संयोजकत्वमा २३ वटै जनसंगठनका जिल्ला अध्यक्षहरु रहने गरि कार्यदल गठन गर्दै विपद व्यवस्थापनमा लाग्ने तयारी गरिएको प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाले बताउनुभयो ।

कार्यदलले वर्षाका कारण हुनसक्ने क्षती न्यूनिकरणका लागि जोखिमयुक्त क्षेत्रको पहिचान गरि सावधानी अपनाउन तीन वटै तहका सरकारको समेत ध्यानाकर्षण गराउँदै विपद् आइपरे तत्काल उद्दार र राहतमा खटिन सबै जनसंगठनलाई तयारी अवस्थामा राखिने संयन्त्रका प्रमुख थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो उद्देश्य भनेकै क्षती न्यूनिकरण गर्नु रहेको छ ।’

बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले जनताको हरेक सुख दुःखमा एमालेका कार्यकर्ता साथमा हुनुपर्छ भन्दै आइपर्न सक्ने विपदमा सबै जनसंगठन अग्रपक्ति उभिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘विपद् आइपरेपछि तयारी गर्ने कार्यले क्षती न्यूनिकरणमा खासै उपलब्धि हुदैन, तपाईंहरुको पूर्व तयारी ठिक समयमा भएको छ, पर्दा सबै एकजुट भएर जुट्नुहोस् ।’

बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य रामलाल साह, नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीलगायतका नेताहरुले जनताका हरेक सरोकारका विषयमा एमालेका कार्यकर्ता साथमा हुनुपर्ने बताउनुभयो ।

Back to top button