टि–२० विश्वकपः भारतसाँग बङ्गलादेश ५० रनले पराजित

काठमाडौं । आइसिसी टि–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत गएराति सम्पन्न खेलमा भारतले बङ्गलादेश माथि ५० रनको जित हासिल गरेको छ ।

एन्टीगुवामा भएको खेलमा भारतले दिएको १ सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४६ रनमा समेटियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बङ्गलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाउनुभयो भने तान्जिद हसनले २९ तथा ऋषाद होसेनले २४ रन जोड्नुभयो ।

भारतका लागि कुलदीप यादवले तीन तथा अर्शदीप सिंह र जसपृत बुम्राहले समान २–२ विकेट लिनुभयो । हार्दिक पान्ड्यले १ विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९६ रनको योगफल बनाएको थियो । भारतका लागि हार्दिक पान्ड्यले २७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाउनुभयो । त्यसैगरी विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम दुबेले ३४ तथा कप्तान रोहित शर्माले २३ रन जोड्नुभयो ।

बङ्गलादेशका तान्जिम हसन सकिब र ऋषाद हुसेनले समान २–२ विकेट लिनुभयो भने शाकिब अल हसनले १ विकेट लिनुभएको थियो ।

Back to top button