
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कि मन्त्री फेर्न कि सिंहदरबार छोड्न सुझाव दिनुभएको छ ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले आफूले मन्त्रीलाई काम लगाउन, फेर्न नसके सिंहदरबार र बालुवाटार छोड्नुपर्ने बताउनुभएको हो ।
वडाको क्षेत्राधिकारमा पसेर बजेट विनियोजन गर्न सक्ने अनि स्रोत छैन भनेर सरकारले समानीकरण अनुदान कटौती गरेको भन्दै थापाले आपत्ति जनाउनुभयो।
समानीकरण अनुदान स्थानीय तहको संवैधानिक हक भएको उल्लेख गर्दै उहाँले भन्नुभयो,‘सरकारले दिने अनुदान कटौती गरेको छ । स्थानीय प्रमुखले गएर प्रधानमन्त्रीलाई भेट्नु भएछ यो विषयमा, अनि १०० प्रतिशत चाहिने भन्नुपर्छ। अनि प्रधानमन्त्रीले भन्नुभएछ, मेरो त मन छ तर मन्त्रीले मानेनन्। प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो, यो संसदीय व्यवस्था हो। यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने।’







