कोशी प्रदेश पर्यटनमा धनी, के के छन् सम्भावना ?

संघीय गणतन्त्र नेपालको कोशी प्रदेश प्राकृतिक, भौगोलिक, जैविक, धार्मिक एवं सांस्कृतिक दृष्टिमा आफैंमा सम्पन्न प्रदेश हो ।

हिमाल, पहाड र तराईसम्म फैलिएको यस प्रदेशमा १४ वटा जिल्ला पर्दछन। कूल २५हजार ९सय ५ वर्ग किमि क्षेत्रफलमा फैलिएको यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल र सिक्किम दक्षिणतर्फ बिहार राज्य पर्दछन् । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ मधेस प्रदेश र बागमती प्रदेश पर्दछन् । भौगोलिक विविधता अतुलनीय प्राकृतिक स्रोत, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले धनी कोशी प्रदेश नेपालका अन्य प्रदेशभन्दा पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना छ ।

झापाको कचनकवल केचना सगरमाथाको शिखरसम्म कोशी प्रदेशमा पर्यटकीय विकास र सम्भावनामा भाग्यमानी प्रदेश मानिन्छ, कोशी प्रदेश । झापाको दक्षिण कुनामा पर्ने नेपालकै सबैभन्दा होचो गाउँपालिका समुन्द्र सतह भन्दा केवल ७० मिटरको उचाईमा रहेको कचनकवल देखि पर्यटकलाई आफूतिर आकर्षित गर्ने विश्वको सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरमाथिका पाँच हिमाल– मकालु, ल्होत्से, कञ्चनजंघा र कुम्भकर्ण हिमाल कोशी प्रदेशमा पर्छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता पर्यटकीय स्थल यहीँ छन । प्राकृतिक मात्र नभै धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना पनि कोशी प्रदेशमा छ । यस आधारमा मुलुककै पर्यटनको ‘हब’ बन्न सक्छ कोशी प्रदेश । पर्यटकीय हिसाबले कोशी प्रदेश धनी प्रदेशका रुपमा पर्दछ । मोरङलाई केन्द्र बनाएर पूर्वका भेडेटार, नमस्ते झरना, हिले, वसन्तपुर, मिल्के जलजले, जेफाले पर्यटकीय क्षेत्रलगायतका ठाउँ चर्चामा छन । पछिल्लो समयमा धरानमा प्याराग्लाइडिङ शुरु भएको छ भने तमोर तथा कोशी जलमार्गमा र्‍याफ्टिङ पनि शुरु भएको छ ।

झापाका केचना कवल, अर्जुनधारा, दोमुखा, शिवसताक्षिधाम, माइ धार घुम्न जाने भारतीय, बंगाली र चाइनिज पर्यटक बढेका छन । यस्तै, इलामको गजुरमुखी, सन्दकपुर, कन्याम, माइपोखरी, फाकफोक थुम ३ आमचोकको ज्ञानदिलदासको मन्दिर, ज्ञान दिल झरना, गुफा, जोर धारा, काली देवी पछिल्लो समय चर्चामा आएका पर्यटकीय स्थल हुन ।  इलाममा पर्यटकीय आकर्षणका अनेकौं स्थान र विषय छन  । हरियाली चियाबारी डाँडा मात्र होइन दृश्यावलोकनका लागि अब्बल स्थान, झरना, सिमसार, विश्वमै दुर्लभ रेडपान्डा लगायत जैविक विविधतायुक्त संस्कृति पर्यटकका लागि आर्कषण बन्ने गरेको छ ।

डेढ दशकअघि स्थानीयले पर्यटन विकासमा सक्रियता बढाएसँगै पर्यटक आगमनमा सुधार छ । स्थानीयको प्रयासमा दरिलो साथ दिने योजना नहुँदा भने सोचे अनुरूप काम हुन नसकेको सरोकारवाला बताउँछन  । सूर्योदयको दृश्यावलोकनका लागि उत्कृष्ट मानिने अन्तुडाँडा सँगै लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तुपाखेरी, चियाबारीले सजिएका डाँडाकाँडा र कृषिबाट सुधारिएको जीवनशैलीले आकर्षण गर्ने गरेको छ ।  अन्तुमा पर्यटक आवागमन १० औं गुणा बढेको छ । चियाबारीले भरिएको कन्याम, रामसार क्षेत्रमा सूचीकृत जैविक, धार्मिक र सांस्कृतिक महत्त्वको माईपोखरीले पर्यटक आकर्षण गरेको छ । त्यसैगरी दृश्यावलोकनका लागि चर्चित, सिद्धिथुम्का, माङमालुङ, धार्मिकस्थल लारुम्बा, पाथिभरा, गजुरमुखी, जिल्लाकै अग्लो टोडे झरना, मावुथाम, रेडपान्डा पाइने, चोया टार, दोबाटे, हाँगे थाम, पाटे नागीजस्ता पर्यटकीय महत्त्वका स्थान छन ।

तेह्रथुमको पर्यटन व्यवसायले गति लिएको छ । तीनजुरे, कालापानी, पटके डाँडा, हली मेला, वसन्तपुरलगायत क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेका छन । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे, मिल्के, जलजले क्षेत्र गुराँस फुल्ने मौसम सुरु भएसँगै विदेशी पर्यटकको संख्या बढ्ने गरेको छ । जैविक विविधताले महत्त्वपूर्ण मानिएको यो क्षेत्र परिवारसहित घुम्न अत्यन्तै राम्रो मानिन्छ । संखुवासभाको सभापोखरी, भोजपुरको साल्पापोखरीजस्ता अत्यन्तै माथिल्लो भेगमा रहेका रमणीय पोखरी तथा तालले पनि यहाँको सौन्दर्यता बढाएका छन् भने तराईमा रहेका धेरै सिमसार क्षेत्रले पर्यावरणको सुरक्षा अझै सशक्त बनाएका छन ।

पर्यटक र पर्यटन
पर्यटक भन्नाले घुम्ने ब्यक्ति बुझिन्छ भने यो पर्यटक भन्ने शब्द सन १७७२ मा प्रचलनमा आएको हो । ‘पर्यटन’ भन्ने शब्दले घुमाइलाई बुझाउँछ, अर्थात व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । सन १८११ मा प्रयोग भएका हुन । फुर्सदको समय पर्यटकका रुपमा बाहिरी वातावरणमा बिताउने प्रचलन बेलायत लगायतका पश्चिमा देशहरुमा औद्योगिक क्रान्ति पछि शुरु भएको हो र यसैको क्रम बढ्दै गएर पर्यटन एउटा विशाल उद्योगको रुपमा विकसित हुन गएको हो ।

पर्यटनमा सञ्चारको महत्व
मुलुकको पर्यटन प्रवद्र्धन र बिकासका लागि सञ्चार माध्यमको पनि उल्लेखनीय भूमिका रहेको हुन्छ । जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिन्छ त्यसका लागि सञ्चार माध्यमले बिशेष योगदान गरेको छ र हाल संसारभरका लागि पर्यटन उद्योग सबैभन्दा ठूलो ब्यबसायका रुपमा परिणत भइसकेको छ ।

पर्यटन प्रबर्द्धनका लागि प्रायः सम्बन्धित निकायहरूले अहिले यस्ता संक्षिप्त जानकारीहरू वेभ साइडहरूमा समेत दिने हुने हुँदा विश्वको एक कुनाको बारेमा अर्को कुनाका मानिसले घरैमा बसेर ज्ञान हासिल गर्न सक्छन भने त्यसै अभिरुचिले थप जानकारी लिने, हेर्ने, देख्ने वा प्रत्यक्ष अनुभूति राख्ने इच्छा हुन्छ र पर्यटकीय गतिविधिलाई बढाउँछ ।
मानिसहरुको व्यस्तता, मुद्राहरूको सहज प्रयोग, अंग्रेजी भाषा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हुनु, सञ्चारको तिब्र विकास र बिश्वब्यापीकरण हुनु, इन्टरनेटको सहज पहुँच हुनु, बिश्व एक गाउँ अर्थात संसार एउटा सानो गाउँ जस्तो बन्दै जानु, अन्तर्राष्ट्रिय संगठनहरु स्थापित र विकसित हुँदै जानु शिक्षा, खेलकुद, सभा–सम्मेलनको अन्तर्राष्ट्रिय सञ्जाल बन्दै जानु आदि कारणले पर्यटन उद्योग विश्वव्यापी र विशाल उद्योग बन्दै गएको छ ।

पर्यटन क्षेत्रको सम्भावना र चुनौती
प्राकृतिक रूपमा प्राप्त नेपालका पर्यटकीय क्षेत्रको निर्माण गर्न ठूलो मानवीय परिश्रम खर्च भएको छैन । नेपालमा यस्ता थुप्रै स्थान छन, जसका बारेमा स्वयम नेपालीहरूलाई पनि जानकारी छैन । पर्यटकीय स्थलका रूपमा हामीले केवल काठमाडौं उपत्यका, पोखरा, चितवनजस्ता सीमित स्थानलाई मात्र चिनेका छौं । नेपालमा यी धेरै सुन्दर र राम्रा ठाउँ पनि छन । ओझेलमा परेका त्यस्ता स्थानको बारेमा खोजी हुनु जरूरी छ ।

प्राकृतिक वातावरण, भौगोलिक विविधता तथा हावापानीका कारण नेपाल विश्वमा एक उत्कृष्ट बसोवास स्थल र गन्तव्य मुलुकका रूपमा चर्चित छ । विशेष गरी पानी, पर्यटन र जनशक्ति नेपालको आर्थिक भविष्यका आधार हुन । यसको अत्यधिक उपयोगमार्फत नेपालले आर्थिक उपार्जन गर्न सक्ने सम्भावना छ । हाल ठूलो संख्यामा जनशक्ति विदेशिएको छ । उसलाई देशमा तत्काल रोजगारी उपलब्ध गराउन सक्ने अवस्था छैन । महँगो प्रविधिका कारण जलविद्युत उत्पादनमार्फत तत्काल आर्थिक उपार्जन गर्न सक्ने अवस्था पनि छैन ।

त्यसकारण नेपालले तत्काल आम्दानी गर्न सक्ने एकमात्र क्षेत्र पर्यटन हो । पर्यटन उद्योग कम लगानीमार्फत ठूलो आर्थिक उपार्जन गर्न सक्ने क्षेत्र हो । छोटो दूरी भए पनि फेरबदल भइरहने हावापानीका कारण हिमाल, पहाड र तराईको उत्कृष्ट संरचना निर्माण भएको छ । त्यस संरचनाभित्र नदीनाला, तालतलैया, जङ्गल, वन्यजन्तु, जडीबुटी, फाँट तथा मरुभूमिसम्म छ । सानो मुलुक भए पनि विशाल भौगोलिक अन्तरमा समेत नभेटिने प्रकारको विविधता हुनु नेपालको विशेषता हो ।

अर्कोतर्फ २ सय फिटदेखि २९ हजार फिटसम्मको भौगोलिक बनावट एउटै मुलुकमा हुन प्रकृतिबाट प्राप्त ठूलो उपहार हो । वास्तवमा यिनै पर्यटकीय दृष्टिमा आकर्षक वस्तुहरू हुन । नेपालले हरेक प्रकारका पर्यटकलाई व्यवस्थापन गर्न सक्दैन । विलासी प्रकृतिका पर्यटकहरूका लागि नेपालमा पर्याप्त सुविधा–सम्पन्न होटलहरू छैनन । तर, पर्वतारोहण, ट्रेकिङ, साहसिक खेलजस्ता कामका लागि पर्यटक आउँदा पनि नेपालले सजिलै व्यवस्थापन गर्न सक्छ । त्यसकारण हाम्रो क्षमता बढि भएको क्षेत्र पहिचान गर्दै त्यस प्रकृतिका पर्यटक आकर्षित गर्नेतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्छ ।

धर्म र संस्कृतिको जगेर्ना
असंख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको कोशी प्रदेशमा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरू अवस्थित छन ।

खोटाङको हलेसी महादेव, ताप्लेजुङको पाथीभरा देवीको मन्दिर, इलामको माईपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बूढा सुब्बा, पिण्डेश्वर, दन्तकाली र रामधुनी, खोटाङको वराह पोखरी, भोजपुरको साल्पा पोखरी, सोलुखुम्बुको दूधकुण्ड, तेह्रथुमको सिद्वकाली देवी, धनकुटाको छिन्ताङ देवी आदि प्रख्यात धार्मिक स्थलहरू रहेका छन ।

यी धार्मिक स्थलहरूमा स्वदेशी तथा विदेशी तीर्थालुहरूको प्रगाढ आस्था रही आएको छ । वर्षेनी लाखौ भक्तजन तथा तीर्थ आगमनले धार्मिक पर्यटनमा टेवा पुगेको पाइन्छ । लाखौं पर्यटकको मन लोभ्याउने तिम्बुङ पोखरी, गुरु फाल्गुनन्द सर्किट, फिक्कल, कन्याम, श्रीअन्तु सर्किट, तीनजुरे जलजले, बालेश्वोर ऐतिहासिक गुफा, हलदे पटके डाँडा पर्यटक ट्रेल, ट्याम्के डाँडा, वराह पोखरी, पाँचपोखरी, थोलेदम्बा डाँडा, उदयपुरगढी, सहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र, धनपालगढी पर्यटकीय क्षेत्र, पिण्डेश्वर समेत यस प्रदेश अन्तर्गत पर्ने उत्कृष्ट गन्तव्य हुन ।

सयभन्दा बढी भाषा बोलिने विभिन्न जातजाति, भाषा, भेषभुषा, रहनसहनका मानिसको धार्मिक सहिष्णुतासहितको बसोबास रहेको यो प्रदेश वास्तवमै ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक दृष्टिले समृद्ध छ । प्राकृतिक सम्पदा, जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा पशुपंक्षीको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र र कञ्चनजंघा संरक्षण क्षेत्र यही छन ।

प्राचीन नेपाली समाजको वास्तविकता बुझ्न यहाँका विभिन्न किंवदन्तीहरूले भरिएका पौराणिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको बारेमा जान्नै हुन्छ । आज तिनै तीर्थस्थलको अपार महिमा नबुझेर कतिपय ओझेलमा परेका छन । केही प्रचारप्रसारको पर्खाइमा छन। केही संरक्षणको अभावमा भग्नावशेषमा परिणत हुँदै गएका छन् । कतिपय किंवदन्तीमा मात्रै सीमित भएर थन्किएका छन ।

तिनका विशेषताको बारेमा प्रचारप्रसारको अभाव, यातायातको कठिनाइ र व्यवस्थापनको कमीका कारणले यी धार्मिक स्थलहरु छायाँमा परेका छन । यहाँका पौराणिक महिमा युक्त तीर्थस्थलहरूको उत्पत्ति र तिनको विशेषताका बारेमा आम जनमानससम्म पुर्याउन नसकेका कारण अहिलेसम्म भारतमा रहेका तीर्थस्थलप्रति नेपालीहरु आकर्षित हुँदै आएका छन ।

पर्यटन उद्योग आर्थिक समृद्धिको महत्वपूर्ण आधार मानिन्छ । यहाँको पर्यावरण अनुकूल अन्तर्राष्ट्रिय स्तरमै धार्मिक पर्यटनको प्रवद्र्धन र विकास गर्न सके मुलुककै समृद्धिको ढोका खोल्न सकिन्छ ।

मुद्रा आय आर्जनको श्रोत
आर्थिक रूपमा पर्यटनको महत्व सर्वाधिक रूपमा बढिरहेको छ । नेपालमा सन १९६० को दशक अगाडि पर्यटन उद्योग वा व्यवसायबाट हुने आम्दानीलाई त्यति महत्व दिइएको थिएन । त्यसपछि प्रायः सबैजसो देशहरूले यसलाई वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य माध्यम ठानि क्रमशः देशीय र अन्तर्राष्ट्रिय पर्यटन गतिविधि तीव्र रूपमा अगाडि बढ्यो ।

तब यसले आन्तरिक विकास बढाएको, देशको गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय आय बढाउनुका साथै ठूला तथा घरेलु उद्योग र उत्पादनमा वृद्धि गराएको, बेरोजगारी समस्या कम गराएको, शोधनान्तर स्थिति सुध्रिएको प्रत्यक्ष आर्थिक क्रियाकलापहरूमा प्रभाव परेकाले पर्यटन क्षेत्र आर्थिक महत्वको विषय बन्न गएको छ । विशेषगरी एसियामा पर्यटन व्यवसायबाट चीन, भारत, जापानलगायतका देशहरूले आफ्नो स्थितिलाई मजबुद पारेका छन । नेपालको गतिविधि पर्यटकको अनुकूल नरहे पनि पर्यटन क्षेत्रले राष्ट्रिय आम्दानीमा वृद्धि भइरहेको छ ।

पर्यटनको आर्थिक महत्वलाई दृष्टिगत गरी सन१९६३ मा रोममा भएको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन, सन १९८० को मनिला सम्मेलनलगायत पाटा, संयुक्त राष्ट्रसंघ, विश्व बैंक आदिले आर्थिक गतिविधिको सफल पक्ष भनी स्वीकारी पर्यटन विस्तार महत्वका साथ यसको विकासलाई प्राथमिकताको सूचीमा राखेका छन । त्यसैगरी कुनै पनि राष्ट्रको विकासलाई औद्योगिकीकरण ले विशेष भूमिका निर्वाह गरेको हुन्छ । हुनत पर्यटनलाई पनि एउटा उद्योगकै रूपमा हेरी पर्यटन उद्योग भन्ने गरिन्छ । तर पनि कुनै देश वा स्थान विशेषमा भएको पर्यटन प्रवद्र्धन एवं विकासले त्यस क्षेत्रमा प्रयोग हुने वस्तुहरूको उत्पादन गर्ने र उद्योग कलकारखानाहरूको वृद्धि गराउँछ । जस्तै: ट्वाइलेट पेपर, गार्मेन्ट इन्डष्ट्रिज, होटेल, रेष्टुराँ, लज र पर्यटकीय क्षेत्रमा बिक्री हुने उपहार योग्य वस्तु, एवं सजावटका सामानहरूको राष्ट्रिय, अन्तर्राष्ट्रिय उद्योगधन्दालगायत स्थानीय घरेलु उद्योगधन्दाहरूको वृद्धि गराउने काम पर्यटनले गर्दछ ।

Back to top button