काठमाडौं महानगरको नीति तथा कार्यक्रममाथि छलफल सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । २ असारमा हुने भनिएको छलफलमा प्रमुख ३ राजनीतिक दलबाट निर्वाचित वडाध्यक्षहरूले नगरसभा बहिष्कार गरेपछि मेयर बालेन्द्र साह (बालेन)ले बैठक स्थगित गर्नुभएको थियो ।

चालु आर्थिक वर्ष २०८०–८१ को प्रगति, समीक्षा र आगामी आर्थिक वर्षका लागि शुक्रबार आफूले पेस गरेको महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेहरूका लागि नाम टिपाउन ५ मिनेट समय दिनुभएको थियो ।

नगर सभामा दलका तर्फबाट संशोधन प्रस्तावहरू संयोजन गर्न जिम्मा पाएका कांग्रेस, एमाले र एकीकृत समाजवादीका तीनै जना वडाध्यक्षहरू हलभित्र नदेखिएपछि नगर सभा सदस्यहरू उठेर हिँडेका थिए ।

यस्तै, नीति तथा कार्यक्रममाथिको छलफल सकेर आजै नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ । नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आव २०८१–८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।

विनियोजन विधेयक २०८१ पनि आजै आउने छ भने मेयर साहले आर्थिक विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Back to top button