समावेशी शिक्षामा ध्यान दिनुपर्ने सहभागिको जोड

विराटनगर । विभिन्न सरोकारवाला पक्षहरुले समावेशी शिक्षामा ध्यान दिन आवश्यक रहेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

काठमाडौं विश्वविद्यालयद्वारा सञ्चालित कार्यक्रम ‘डिप्लोमा इन इन्क्लुसिभ एण्ड स्पेसियल नीड एजुकेशन’ मा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको छलफलका सहभागिहरुले यस्तो जोड दिएका हुन् ।

विराटनगरको आदर्श माविमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका गरि १ सय २० जना भन्दा बढी अभिभावक र सम्बन्धित क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो । छलफलका क्रममा उठेका जिज्ञासाहरुलाई सम्बन्धित क्षेत्रका विज्ञ प्लानलिष्टहरुले जवाफ दिनुभएको थियो ।

समावेशी शिक्षाका वर्तमान चुनौती र अवरोधहरु विषयमा भएको छलफलमा विराटनगर महानगरपालिकाका शिक्षा शाखा अधिकृत कृष्ण भट्टराई, नोबेल अस्पतालका बालरोग विशेषज्ञ डा. अरुण गिरी, आदर्श माविका सह प्राचार्य इन्द्रबहादुर चौहान र करुणा फाण्डेसन इटहरीका प्रतिनिधि कमल कोइराला प्यानलिष्टका रुपमा रहनुभएको थियो ।

सहभागीहरुले समावेशी शिक्षाका बारेमा नीतिगत व्यवस्था, अहिलेको अवस्था र सम्भावनाका सम्बन्धमा प्रश्नहरु राखेका थिए । उक्त प्रश्नहरुको जवाफ शिक्षा अधिकृत कृष्ण भट्टराईले दिनुभएको थियो ।

अपाङ्गता बालबालिकामा हुने स्वास्थ्य समस्या र उपायहरुको बिषयमा डा. गिरीले स्पष्ट पार्नुभयो । करुणा फाउण्डेसनका प्रतिनिधि कमल कोइरालाले अहिलेको अपाङ्गताको अवस्था र करुणा फाउण्डेसनले स्थानीय पालिकाहरुसँग गरेको साझेदारीका विषयमा जानकारी गराउनुभयो ।

विद्यालयका सह प्राचार्य चौहानले विद्यालयमा समावेशी शिक्षाको लागि भइरहेको अभ्यास र आउनसक्ने चुनौती र सम्भावनाका विषयमा जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि करुणा फाउण्डेसन र आदर्श स्कुलले खाजा र हल व्यवस्थापनमा सहयोग गरेको आयोजकका तर्फबाट प्रकाश गौतमले जानकारी दिनुभयो ।

Back to top button