मोरङमा घरभित्रै वृद्ध मृत फेला

विराटनगर । मोरङमा १ जना वृद्ध घरभित्रै मृत फेला परेका छन् । सुनवर्षी नगरपालिका–२ का ७५ वर्षीय पुनलाल राजवंशी आफ्नै घरभित्र मृत भेटिनुभएको हो ।

घरको कोठाभित्र पानी भरेको बालटिनमा टाउको डुबेर मृत्यु भएको अवस्थामा सोमबार साँझ ७ः२५ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार बालटिनमा घोप्टो परेको निर्वस्त्र अवस्थामा राजवंशीलाई मृत फेला पारिएको हो।

राजवंशी घरभित्रै मृत फेला परेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी दिएका थिए । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा पुर्‍याएको छ । राजवंशीको अस्वभाविक मृत्युका सम्बन्धमा इन्सपेक्टर खड्का नेतृत्वकै टोलीले थप अनुसन्धान सुरु गरेको डीएसपी बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार पानी खान वा नुहाउन लाग्दा मृत्यु भएको हुनसक्ने आशंका छ । तत्काल हेर्दा शरीरमा कुनै चोटपटक नरहेको र घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ। यद्यपि, अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी डीएसपी बस्नेतले दिनुभयो ।

प्रहरीका अनुसार घरमा वृद्ध राजवंशी एक्लै बस्दै आउनुभएको थियो । पत्नीको केही समयअघि मृत्यु भइसकेको र उहाँका सन्तान नरहेको प्रहरीले जनाएको छ ।

Back to top button