संसद् राष्ट्र निर्माण गर्ने थलो हो : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् राष्ट्र निर्माण गर्ने थलो भएको बताउनुभएको छ ।

६६औँ संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्च नेपालको आयोजना तथा सङ्घीय संसद् सचिवालयको समन्वयमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वयन र कानुन कार्यान्वयनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुपर्नेमा जोड दिनुभयो।

“कानुन बनाउने निकाय गम्भीर भएर सरोकारवालासँग बृहत् बहस र छलफल जरुरी छ”, सभामुख घिमिरेले भन्नुभयो । संसद्मा सरकारले ल्याएका विधेयकलाई छलफल गरेर पारित गर्ने परिपाटी भएको उल्लेख गर्दै उहाँले आफैले अध्ययन गरेर कानुन बनाउने काम सांसदले गर्नसकेमा महत्त्वपूर्ण हुने बताउनुभयो ।

पूर्वसांसद मञ्चले समय समयमा आफ्ना महत्त्वपूर्ण धारणा सार्वजनिक गर्दै आएको र त्यो राज्यका लागि हितकर भएको सभामुख घिमिरेको भनाइ थियो। पहिलो संसद्देखि अहिलेसम्म गरेका कामको महत्त्वपूर्ण सामग्रीको अभिलेखिकरण गर्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो।

Back to top button