माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौं : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने चाहना भएको बताउनुभएको छ ।

आज एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय हुने आशा रहेको बताउनुभयो ।

‘नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र बीचमा निर्वाचनअघि, निर्वाचनपछि र आजका मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौं’, उहाँले भन्नुभयो,‘मलाई लाग्छ यो महाधिवेशनले यो विषयमा ठोस निर्णय गरोस् ।’

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले आफ्नो दस्ताबेजमा माओवादीलाई नजिकको मित्र भनेर मूल्यांकन गरेकामा खुशी व्यक्त गर्नुभयो तर आफूलाई अस्थिर भनेकामा भने चित्त दुखाउनुभयो । आफूले माक्र्सवादलाई जमेको पोखरी नभई गडगडाउँदो नदीका रुपमा बुझेको भन्दै परिस्थिति हेरेर अघि बढ्ने गरेको बताउनुभयो ।

आफूले सरकारको नेतृत्व गरेदेखि भ्रष्टाचारविरुद्ध लगातार पहलकदमी अघि बढाइरहेको र भ्रष्टाचार मुद्दामा धेरै गिरफ्तार भएको प्रचण्डले दाबी गर्नुभयो । तैपनि अहिले सबै भष्टमात्र छन् भनेर प्रचारबाजी भइरहेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

Back to top button