प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच आज बालुवाटारमा भेटवार्ता जारी रहेको प्रचण्ड सचिवालयले जनाएको छ ।

आजको भेटमा प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल पुनर्गठन र समसामयिक विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ। सरकारका काम अझै प्रभावकारी बनाउने बारे छलफल जारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

ओलीले सिफारिस गर्ने व्यक्ति नियुक्त नभएपछि सानातिना नियुक्ति, सरुवा, बढुवामा नअल्झिई पोलिसी म्याटरमा जान प्रचण्डलाई सुझाव दिँदै आउनुभएको छ ।

शनिबार र आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँगको छलफललाई लिएर माओवादी नेतृत्व तरंगित बनेको छ । एमाले र कांग्रेसबीच संवाद बढेपछि प्रचण्डले समेत भेटवार्ता बढाउनुभएको हो ।

माओवादी नेतृत्वमा भने कांग्रेस र एमाले मिलेर सरकार परिवर्तन गर्न लागेको आशंका पैदा भएको छ । कांग्रेसका कतिपय नेताहरु एमाले र कांग्रेस मिलेर देशलाई अगाडि बढाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला देउवा र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Back to top button