एमाले अध्यक्ष ओलीले मन्त्रीहरुलाई छलफलका लागि बोलाएको खबर सत्य होइन

विराटनगर । पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई नेकपा एमालेका अध्यक्ष ओलीले छलफलका लागि बोलाएको भन्ने समाचारमा सत्यता नभएको उहाँको सचिवालयले जनाएको छ ।

फेसबुक पेज बालकोटबाट सचिवालयले अहिले साँझ सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएको खबर सत्य नभएको सचिवालयले उल्लेख गरेको छ ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ।’ पेजमा लेखिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख तीन दलका शीर्ष नेताबीच द्विपक्षीय भेटवार्ता बाक्लिएका वेला एमाले अध्यक्ष ओलीले आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सामूहिक रूपमा भेटका लागि बोलाउको खबरले यतिबेला देशकै ध्यान तानेको थियो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच आज पनि भेटवार्ता भएको छ। अध्यक्ष ओली र सभापित देउवाको पछिल्लो भेटपछि राजनीतिक वृत्त तरंगित बनेको छ। सामाजिक सञ्जालहरूमा अहिले बढेको भेटघाट सत्ता परिवर्तनको सम्भावनाको तर्कसहित चर्चा भइरहेको छ ।

Back to top button