प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने,विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा नदिने हुनुभएको छ । आज बिहान बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो।

बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीबाट तत्काल राजीनामा नदिने र संसद फेस गर्ने निर्णय भएको बताउनुभयो । ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन। गणित सो गर्न जाने। संसद फेस गरेर विश्वासको मत लिएर अगाडि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ। पार्टीको तर्फबाट एकमतले विश्वासको मतको सामना गर्ने नै छ। विभिन्न पक्षसँग छलफल गर्ने कुरा भएको छ,’उहाँले भन्नुभयो,‘रास्वपा कांग्रेस, एमालेलगायत अन्य दलसँग पनि कुराकानी गरेर अगाडि बढ्ने भएको कुरा भएको छ ।’

नेता पौडेलले एकातिर एउटा सहमति गर्ने अर्कोतिर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर भन्नु सरासर षडयन्त्र भएको बताउनुभयो। उहाँले भन्नुभयो,‘एकातिर एउटा सहमति गर्ने अर्कोतिर दुई पार्टीले सहमति गरेर अरु पक्षसँग राष्ट्रिय सहमतिको सरकार बनाउन भन्न मिल्छ? यो षडयन्त्र हो। यसको प्रतिवादमा उत्रिन्छौं।’

आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेर प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गर्नुभएको थियो । उहाँले राजीनामा नदिए एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूले राजीनामा दिने जानकारी गराउनुभएको थियो । संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी हुने दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधान छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले सहमत भएका छन् । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नुहुने छ भने दोस्रो चरणमा डेढ वर्षपछि चुनावी सरकारको रुपमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नुहुने छ ।

यस्तै, एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको जनाइएको छ ।

Back to top button