नयाँ सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न राप्रपाले बोलायो आकस्मिक पदाधिकारी बैठक

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण बनेपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने तय भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार बैठकमा परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समिक्षा गर्न र पार्टीको धारणा तय हुनेछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले सहमत भएका छन्। उक्त राप्रपाले नयाँ सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने आजको बैठकमा छलफल हुनेछ।

दुई दलबीच भएको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नुहुने छ भने दोस्रो चरणमा डेढ वर्षपछि चुनावी सरकारको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुने छ । एमालेले अर्थ मन्त्रालय लिँदा कांग्रेसले गृह मन्त्रालय लिने भएको छ । एमालेले ९ वटा मन्त्रालय र कांग्रेसले १० वटा मन्त्रालय लिने बताइएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने बताउनुभएको हो । पोखरेलले राजनीतिक स्थायित्वका लागि कांग्रेससँग संविधान संशोधन गर्ने सहमति भएको जानकारी दिनुभएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने एमालेको ७९ सिट छ । संविधान संशोधनका लागि दुई तिहाई बहुमत आवश्यकता भएकाले साना दललाई सहभागी गराउनुपर्नेछ ।

Back to top button