स्थानीय तह बलियो हुँदा जनताको सेवा प्रवाहमा बढी सहयोग पुग्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्र र प्रदेशभन्दा जनताको सेवा प्रवाहमा बढी भुमिका स्थानीय तहको हुनेभएकाले यसलाई थप सक्षम र बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षाण प्रतिष्ठान को आयोजनामा आजदेखि विराटनगरमा सुरु भएको न्यायिक समितिको तिन दिने कार्यशालाको उद्घाटन गर्दै उहाँले स्थानीय तह जति धेरै सक्षम भयो जनताले उति नै बढी सेवा प्राप्त गर्ने बताउनुभयो ।

स्थानीय तहसँग साधन स्रोतको पनि अभाव रहेको बताउँदै उहाँले यस्तो अभावको अवस्थामा पनि जनतालाई सेवा दिन तत्पर स्थानिय तहलाई सक्षम बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । जनताको सेवा प्रवाहमा प्रत्यक्ष भुमिका खेल्ने स्थानिय तहलाई थप बलियो बनाउन प्रदेश सरकार तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै उहाँले स्थानिय तह जति सक्षम र बलियो भयो त्यति नै प्रदेश सरकारपनि बलियो हुने उल्लेख गर्नुभयो ।

‘प्रदेशमा धेरै सेवा दिने ठाउँहरु छैनन् जनतालाई प्रत्यक्ष सेवा दिने थलो स्थानिय तह नै हो,’ उहाँले भन्नुभयो,‘त्यसैले जतिधेरै स्थानीय तह सक्षम भयो उति नै जनताले बढी सेवा पाउँछन ।’

जनतालाई न्याय दिने कुरा चानचुने नभएको उल्लेख गर्दै उहाँले कुनै एउटा राजनितिक दलको चिन्हबाट निर्वाचन जितेर बायस नभइ न्याय दिनसक्नु ठुलो चुनौतीपुर्ण काम भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘न्यायिक मनले वास्तविक पिडितलाई न्याय दिन सक्नुभयो भने तपाई वास्तविक जिवनमा सफल बन्नुहुनेछ ।’

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले न्याय सम्पादन गर्ने काम अत्यन्तै चुनौतिपुर्ण रहेको बताउनुभयो । जनताका कुरा सुनेर न्याय दिनु ठुलो जिम्मेवारी भएकाले स्थानिय तहका प्रमुखहरुले अधिकार दिएनन भनेर गुनासो गर्नुभन्दा भएको संवैधानिक र कानुनी अधिकारको सदुपयोग गर्ने क्षमताको विकास गर्न उनले उपप्रमुखहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशको १४ वटै जिल्लाका स्थानिय तहका उपप्रमुखहरुको सहभागिता रहेको छ । कार्यशालामा न्याय सम्पादनमा देखिएका सामाजिक र राजनितिक समस्या तथा चुनौती, कोशी प्रदेशका स्थानिय तहको न्याय सम्पादनको अवस्था, उपप्रमुख तथा उपाध्यक्षहरुले न्यायिक सम्पादन प्रक्रियामा भोगेका समस्या र चुनौती लगायतका विषयमा छलफल गरिने छ । कार्यक्रममा मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सिर्जना राई , प्रमुख सचिब केदारनाथ शर्मा लगायतले बोल्नुभएको थियो ।

Back to top button