मदन भण्डारीको जन्मजयन्तीको अवसरमा सडक दौड हुँदै

विराटनगर । नेपाल खेलकुद महासंघ नेकोस राष्ट्रिय एथलेटिक्स संघले मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा सडक दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बुधबार विहान विराटनगरमा हुने दौड प्रतियोगितामा खुल्ला तर्फ महिला र पुरुष तथा १५ वर्ष मुनिका विद्यालय स्तरीय छात्र र छात्रा तर्फका इभेन्ट हुने संघले जनाएको छ ।

आज पाञ्चालीस्थित मदन आश्रीत भवनमा पत्रकार सम्मेलन गर्दै नेकोस राष्ट्रिय एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष अनिरुद्र चौधरीले प्रतियोगितामा करिब ४ सय जनाको सहभागिता हुने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँका अनुसार अहिलेपनि नाम दर्ता गराउने क्रम चलिरहेको भन्दै जानकारी दिँदै प्रतियोगितामा देशभरका अधिकांश जिल्लाको प्रतिनिधित्व हुने बताउनुभयो ।

बुधबार विहान ७:३० बजे सुरु हुने प्रतियोगिताको खुल्ला तर्फको दौड ५ किलोमिटरको हुने छ भने विद्यार्थी तर्फको दौड ३ किलोमिटरको हुने छ ।

खुल्ला तर्फको प्रथमले १५ हजार १ सय ११, द्धित्तियले १० हजार १ सय ११, तृतीयले ७ हजार १सय ११, चौथोले ५ हजार १सय ११ र पाँचौं हुनेले ३ हजार १ सय ११ रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । जुन महिला र पुरुष विधाका लागि समान छ ।

यसैगरि छात्र र छात्रा तर्फको प्रथमले ८ हजार १ सय ११, द्धित्तियले ६ हजार १ सय ११, तृतीय हुनेले ४ हजार १ सय ११, चौथोले २ हजार १ सय ११ र पाँचौं हुनेले १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने संघका केन्द्रीय अध्यक्ष चौधरीले बताउनुभयो ।

खुल्ला दौड विराटनगरको सहिद मैदानबाट शुरु भई तीनपैनी चोक, बरगाछी हुँदै शनिमन्दिर देखि अस्पताल चोक देखि पुनः रंगशालामा पुगेर समापन हुनेछ ।

यस्तै छात्रछात्रा तर्फको दौड रंगशाला, डाँफेचोक, गोल्छाचोक, जलजला चोक, अस्पताल चोक भएर रंगशालामा पुगेर टुङ्गिने संघका अध्यक्ष चौधरीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका सहइन्चार्ज रोहित कोइरालाले पहिलो पटक छात्र छात्राको दौड आयोजना गरिएको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति मोरङका पूर्व अध्यक्ष समेत रहनुभएका कोइरालाले एथलेटिक्सका खेलाडीहरु उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यार्थीहरुलाई सहभागि गराइएको स्पष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्की, नेपाल खेलकुल महासंघका स्थायी कमिटी सदस्य तथा मोरङ इन्चार्ज सुरज श्रेष्ठ, प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालालगायतको उपस्थिति थियो भने खेलकुद महासंघ विराटनगर महानगरका अध्यक्ष जतिन ताम्राकारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Back to top button