गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौं : निधि

विराटनगर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा एमालेले सहकार्य गरेको बताउनुभएको छ ।

आज नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार भेटमा उहाँले दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने बताउनुभयो ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका निधिले देशमा रहेका समस्या समाधानका लागि नयाँ गठबन्धनमा अरु दलहरुसमेत समावेश गरेर सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘राजनीतिक अस्थितरता र जनतामा रहेको निराशा अन्त्यका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ। प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक प्रणाली राख्ने वा नराख्ने विषयमा छलफल सुरु भएको छ, त्यसलाई बृहत छलफल गरी निष्कर्षमा पुराउनुपर्ने आवश्यकता छ । संविधान संशोधन गरी धेरै विषयलाई थप बलियो बनाउन दलहरुबीच सहकार्य जारी राख्नुपर्छ।’

Back to top button