कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको छ । आज बिहान ९ बजे बस्ने गरी सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार बैठकले एमालेसँगको सहमति अनुमोदन गर्ने छ । कांग्रेसले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधान संशोधनमार्फत वर्तमान राजनीतिक व्यवस्थाको रक्षाका लागि एमालेसँग सत्ता समीकरणमा सहमति गरेको महतले बताए।

सहमतिअनुसार एमाले केपी शर्मा ओली करिब डेढ वर्ष प्रधानमन्त्री बन्नुहुने छ । त्यसपछि बाकी समय कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुने छ । कांग्रेस एमालेको सहमतिको सरकारमा कांग्रेसले १० मन्त्रालय पाउने भएपछि कुन मन्त्रालय कसले पाउने भन्ने घनिभूत छलफल भएको छ ।

कांग्रेसका एक नेताका अनुसार संस्थापन पक्षले ६ वटा मन्त्री, वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षलाई ४ मन्त्रीको नाम सिफारिस गर्ने मोटामोटी सहमति भएको छ । संस्थापन पक्षका एक नेताले भने,‘यो मोटामोटी खाका मात्र हो। कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषय कार्यसम्पादन बैठकपछि छलफल हुन्छ। सभापतिजीले यसमा काम गरिराख्नुभएको छ।’

Back to top button