प्रधानमन्त्रीलाई कांग्रेसको आग्रहः नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताउनुभयो ।

‘सबैभन्दा ठुला दल कांग्रेस र एमालेले सँगै सरकार बनाउँछौँ भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ । त्यो निर्णयमा पनि समावेश छ । उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ गर्नुपर्छ,’बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता डा.महतले भन्नुभयो,‘अरु दलको समर्थन घोषणा भइराख्या छ, यो चाहिं नयाँ समीकरणमा। कार्यसम्पादन समितिले प्रधानमन्त्रीज्यूलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छौँ ।’

प्रधानमन्त्रीले मार्ग प्रशस्त नगरेको अवस्थामा संविधानको बाटोबाटै भएपनि नयाँ सरकार बन्ने प्रवक्ता महतको जिकिर छ ।

यसअघि हिजो बसेको नेकपा एमालेको सचिवालय बैठकले पनि प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो ।

Back to top button