सांसद मण्डलको नेतृत्वमा सडक किनारमा वृक्षारोपण अभियान सुरु

विराटनगर । मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले सडक किनारमा वृक्षारोपण अभियान सुरु गर्नुभएको छ ।

मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारदेखि भारतीय सीमा क्षेत्रसम्म पुग्ने सडकबाट उहाँले वृक्षारोपण अभियान सुरु गर्नुभएको हो ।

शनिबार सांसद मण्डलको समन्वयमा जीवन विकास समाजले औपचारिक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको थियो ।

धनपालथान गाउँपालिका र मेट लाइफ इन्स्योरेन्सले सहयोग गरेको अभियान सञ्चालनका लागि थ्री जिरो क्लब र जीवन विकास लघुवित्त वित्तीय संस्थासँग सहकार्य गरिएको छ ।

पहिलो दिन शनिबार ५ सय विरुवा रोपिएको थियो । अभियानको पहिलो चरणमा क्षेत्र नम्बर ५ का सबै कालोपत्रे सडकको दाँया बाँया बिरुवा रोप्ने सांसद मण्डलको योजना छ ।

पृथ्वी बचाउने अभियान अन्तरगत कालोपत्रे सडकको किनारमा बिरुवा रोप्ने उहाँले बताउनुभयो । कालोपत्रे सडक वातावरणीय हिसाबले हानिकारक रहेको बताउँदै उहाँले वातावरण संरक्षणका लागि सडक किनारमा वृक्षारोपण गर्न आग्रह गर्नुभयो ।

अभियान अन्तरगत सडक किनारमा रोपिएको बिरुवा संरक्षणका लागि सम्बन्धित क्षेत्रका स्थानीयलाई जिम्मेवार बनाइनेछ । सडकको किनाराका घर छेउछाउ फलफूलको विरुवा रोप्दा स्थानीयले संरक्षण गर्ने उहाँको भनाई छ ।

यस्तै,धनपालथान गाउँपालिका अध्यक्ष जिवछ प्रसाद गच्छदारले पृथ्वी बचाउ अभियान अन्तरगत पालिका भित्रका सडकमा रोपिएका बिरुवा संरक्षण गरेर हुर्काउने बताउनुभयो । सडकमा रोपिएको बिरुवाको संरक्षणका लागि पालिकाले सबैसँग सहकार्य गरेर काम गर्ने जानकारी दिनुभयो ।

कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्रदेशमा वन विस्तारका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । वृक्षारोपण र वातावरण संरक्षणका लागि मन्त्रालयले निरन्तर सहयोग गरिरहने उहाँको भनाई छ ।

त्यसैगरी जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले लघुवित्तले पनि वातावरण संरक्षणको क्षेत्रमा निरन्तर अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित थ्री जिरो क्लब गठन र सामाजिक कार्यमा युवा परिचालनका लागि काम गरिरहेको बताउँदै उहाँले रोपिएका विरुवालाई माया गरेर हुर्काउन आग्रह गर्नुुुभयो ।

धनपालथान गाउँपालिकाका पूर्व प्रमुख हरिलाल सिंहले वृक्षरोपणसँगै संरक्षण अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो ।

मेट लाइफ इन्स्योरेन्सका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले स्वच्छ वातावरण अर्को पुस्तालाई हस्तान्तरणका लागि निरन्तर वृक्षरोपणसँगै संरक्षण आवश्यक रहेको बताउनुभयो ।

अभियान उद्घाटनका क्रममा धनपालथान– ४ का वडा अध्यक्ष श्रीराम चौधरी र वडा नम्बर २ का अध्यक्ष पंकजकुमार मण्डलले आफ्नो वडा तहमा रोपिएको विरुवा संरक्षण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Back to top button