कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा झापा विजयी 

विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा सम्पन्न कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । आज खोटाङ जिल्ला स्थित यलम्बर रंगशालामा सम्पन्न खेलमा भोजपुरलाई १-० हराँउदै झापाले प्रतियोगिताको उपाधि जितेको हो ।

झापालाई विजयी बनाउन खेलको पहिलो हाफ अगाडि जेनिफर राना मगरले गर्नु भएको गोल निर्णायक साबित भएको थियो ।

प्रतियोगिताको उपाधिसँगै झापाले २ लाख नगद सहित ट्रफी , नगद र प्रमाणपत्र प्राप्त गरेको थियो भने उप विजेता भोजपुरले नगद १ लाख सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो ।

प्रतियोगिताको हाइस्कोरर तथा सर्वोत्कृष्ट खेलाडीमा झापाकी जेनिफर रानामगर घोषित हुनु भएको थियो भने राणा मगरले ट्रफी र प्रमाणपत्र सहित ३५ हजार नगद प्राप्त गर्नु भएको थियो ।

प्रतियोगिताको बेस्ट गोलकिपर झापाकी जसुधा लिम्बु, बेस्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ, बेस्ट मिडफिल्डर झापाकी सिम्रन राई, बेस्ट फर्वार्ड भोजपुरकी आरती भुजेल, बेस्ट कोच झापाका सन्तबहादुर रायमाझी, राइजिङ प्लेयरमा खोटाङकी रिया राई घोषित हुनुभएको थियो ।

उहाँहरूलाई जनही ३–३ हजार नगद, ट्रफी र प्रमाणपत्र पाएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख मनोज राईले बताउनु भयो ।

आज सम्पन्न फाइनल खेलको विजयी टोलीलाई प्रतियोगिता सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास सचिव कृष्ण ( प्रर्शुराम ) बस्नेतले पुरस्कार वितरण गर्नु भएको थियो ।

 

Back to top button