माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरू भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते लिने विश्वासको मतका बारेमा छलफल भइरहेको बताइएको छ। संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित नयाँ सत्तासमीकरण बनाउने सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।

कांग्रेस–एमालेबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएको छ । सहमतिअनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । त्यसपछि चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ ।

सत्तामा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजनीतिक संकटमा पर्नुभएका प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

Back to top button