तेह्रथुम कृषि र पर्यटनका लागि महत्त्वपूर्ण जिल्ला हो : मुख्यमन्त्री कार्की

तेह्रथुम । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन र कृषिका हिसावले तेह्रथुम महत्वपूर्ण जिल्ला भएको बताउनुभएको छ ।

आज भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको उद्धाटन गर्दै उहाँले तेह्रथुमका किसानका समस्या समाधान गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो ।

नगद अनुदानको दुरुपयोग बढेको आशंका गर्दै उहाँले अब किसानलाई ब्याज अनुदान दिने बताउनुभयो । ब्याज अनुदानका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

प्रदेशलाई चुस्त पार्नका लागि आगामी वर्ष सात सय कर्मचारी थप्ने तयारी रहेको बताउँनुहुँदै उहाँले भन्नुभयो, ‘त्यसपछि प्रदेश सरकारलाई कार्यालय थप गरेर काम गर्न सजिलो हुन्छ ।’

कोशी सरकारले यस वर्ष मात्रै ६ वटा भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र थप्नेगरी काम गरिरहेको छ । प्रदेशमा पशुपालनको धेरै सम्भावना भएको र त्यसलाई थप प्रभावकारी रुपमा अगाडी बढाउन प्रदेश सरकारले खोरेत रोग निर्मूल गर्न अभियान चलाइरहेको उहाँले जानकारी गराउनुभयो ।

तेह्रथुमको विकासमा आफूले ध्यान दिइरहेको बताउँदै उहाँले आगामी दिनमा योजना बैक मार्फत योजना राखेर प्राथमिकताका आधारमा योजना समावेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकारले बसाईसराई घटाउने योजनाका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।

कोशी पर्यटन वर्ष मनाउने तयारी रहेको जानकारी दिँदै आगामी वर्ष बैशाखबाट तीनजुरे मिल्केबाट पर्यटन वर्षको सुरु गरिने उहाँको भनाइ छ ।

कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल, कमला दर्नाल, म्याङ्लुङका मेयर संजय तुम्बाहाम्फे, प्रमुख जिल्ला अधिकारी मिरा अर्याललगायतले बोल्नुभएको थियो ।

Back to top button