प्रधानमन्त्री ओलीलाई एमालेको सुझाव पत्र

काठमाडौं । नेकपा एमालेले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने कामको सूचीसहित सुझाव पत्र बुझाएको छ । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई भेट गरी आज सुझाव पत्र बुझाएको हो ।

सुझाव पत्रमा सरकारले तत्कालै चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्ने कामको सूची रहेको छ । सुझावपत्रमा झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा प्राप्त भएका सुझावदेखि जनतामा कायम रहेको निरासा चिर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले गर्नुपर्ने कामलाई समेटिएको छ।

मन्त्रालयबाट हुने सेवा प्रवाह र विकास निर्माणमा देखा परेका मुख्य अवरोध र समाधानका उपाय तथा महिला, युवा, सहरी जनमत, प्रवासी नेपाली र भूमिहीन लगायतलाई आकर्षित गर्न सकिने नयाँ र सृजनशील कार्यक्रम लगायत विषय सुझावमा समेटिएको छ।

कांग्रेससँगको सहमतिपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभन्दा डेढ साता अगावै एमालेले गत असार २१ गते ओली नेतृत्वको सरकारले आगामी ३ वर्षभित्र गर्नुपर्ने कामको बिषयमा सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

uml-preferecne

Back to top button