
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय नेताहरुको कार्यविभाजन गर्नका लागि आगामी बिहीबार पार्टी हेडक्वाटरमा सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
नेकपा एमालेले केन्द्रीय नेतालाई आफ्नै भूगोलको जिम्मेवारी दिन लागेको हो । यस अगाडि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । अन्तर प्रदेश र अन्तर क्षेत्रका फरक–फरक भूगोलमा कार्यक्षेत्र रहने गरी खटाएको एक वर्ष पूरा भएकाले आफ्नै कार्यक्षेत्रको जिम्मेवारी दिने निर्णय भएको छ ।
नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ ।
बैठकबाट एमालेले विभिन्न ईञ्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्ने छ ।







