रवि लामिछाने कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्‍याएर लामिछानेलाई आज भैरहवा कारागार पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एस पी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पुर्‍याएर कारागार पठाइएको बताउनुभयो । उहाँले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जानकारी दिनुभयो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ पर्नुभएका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गर्नुभएको हो । जिल्ला अदालत रुपन्देहीले उहाँलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ पर्नुभएको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिनुभएको थियो ।

Back to top button