जेनजी आन्दोलनका घाइतेहरूको सरकारले वर्गीकरण गर्दै

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्नका लागि कार्यविधि ल्याएको छ । गृह मन्त्रालयले ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२’ सार्वजनिक गरेको हो ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा चोटपटक, अंगभंग वा अन्य शारीरिक असर भई अस्पतालमा उपचार गरेकाहरूको वर्गीकरणका लागि सरकारले कार्यविधि ल्याएको हो ।

सरकारले घाइतेहरूलाई चार प्रकारमा विभाजन गरेको छ । जसमा अति गम्भीर घाइते, गम्भीर घाइते, मध्यम घाइते र सामान्य घाइते रहेका छन्। विभाजन गर्दा घाइतेहरूको अवस्था हेरेर पहिचान गरिने सरकारले जनाएको छ ।

सरकारले घाइतेहरूको अवस्था पहिचान गर्न गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति बनाउने जनाएको छ ।

समितिमा हाडजोर्नी विशेषज्ञ, स्नायु रोग विशेषज्ञ, नाक, कान, घाँटी विशेषज्ञ, जनरल मेडिसिन विशेषज्ञ, आँखा रोग विशेषज्ञ, शल्य चिकित्सक विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, उप सचिव, गृह मन्त्रालय र उपसचिव, गुणस्तर मापन तथा नियमन महाशाखाबाट एक-एक जना सदस्य रहनेछन् ।

सरकारी अस्पतालमा उपचार गराउने घाइतेहरूलाई सहजीकरण गर्न जिल्लास्तरीय समिति पनि बनाइएको छ। जसमा प्रमुख जिल्ला अधिकारी संयोजक र अधिकृतस्तरका प्रतिनिधि र अस्पताल प्रमुख, अस्पतालले तोकेको विशेषज्ञ चिकित्सक, प्रहरी कार्यालयका अधिकृत स्तरका प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख र प्रशासन कार्यालयका अधिकृत स्तरका प्रतिनिधि सदस्य रहने कार्यविधिमा उल्लेख छ ।

निजीमा उपचार गराएकाहरुको हकमा समेत माथि उल्लेखित समितिहरूले नै सहजीकरण गर्ने कार्यविधिमा भनिएको छ । त्यसका लागि घाइतेहरूले कार्यविधिमा तोकिएका विवरणहरू बुझाउनुपर्ने छ । भदौ २३ र २४ गते बाहेकका घटनाका घाइतेहरूलाई नसमेटिने पनि कार्यविधिमा उल्लेख छ ।

Back to top button