खेलकुद परिषद् मातहतको भौतिक संरचना प्रदेशलाई हस्तान्तरण गर्न सदस्य सचिव घोषको आग्रह

विराटनगर। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य सचिव विप्लव घोषले राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेका भौतिक संरचना प्रदेशलाई हस्तान्तरण गर्न आग्रह गर्नु भएको छ। काठमाडौँमा सम्पन्न परिषद्को १२५ औँ बोर्ड बैठकमा बोल्दै घोषले प्रदेशमा रहेको बैजनाथपुर क्रिकेट रंगशाला, इटहरी रंगशालालगायतका खेलकुद संरचना प्रदेश सरकार हस्तान्तरण गर्दा उक्त संरचनाको संचालन तथा व्यवस्थापनमा सहयोग पुग्ने भन्दै आग्रह गर्नु भएको हो।

बोर्ड बैठकमा सदस्य सचिव घोषले परिषद् मातहतका कर्मचारी, प्राविधिक र प्रशिक्षकहरूको समायोजन प्रदेशस्थित खेलकुद बोर्डमा भएमा प्रदेशमा खेलकुद गतिविधि थप चलायमान हुने धारणा राख्दै उक्त व्यवस्थाबारे नीति बनाउन आग्रह गर्नुभएको थियो। उहाँले कोशी प्रदेशमा आयोजना हुने १७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि प्रदेश तयार रहेको जानकारी गराउँदै राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सहभागी खेलाडी तथा अफिसियलहरूलाई दैनिक म्याच-फी को व्यवस्था गर्न समेत सुझाव दिनुभएको थियो।

बोर्ड बैठकले मङ्सिर १६ गते देखि २९ गते सम्म कर्णाली प्रदेशमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने, पुस १५ मा राष्ट्रिय पारा खेलकुद आयोजना गर्ने लगायतको निर्णय समेत गरेको सदस्य सचिव घोषले जानकारी दिनु भयो।

Back to top button