नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्।

बाढी प्रभावित विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाका सबै विद्यालय बन्द छन्। बेलकोटगढी र तारकेश्वर गाउँपालिकाले पनि प्रभावित क्षेत्रका शैक्षिक संस्था तत्काल सञ्चालन गर्न नसकिने जनाएका छन्।

बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक सम्पर्कविहीन हुनुका साथै विद्यालय, सडक र पुलमा क्षति पुगेकाले तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था नरहेको विदुर नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नदी वारपार गर्न सक्ने अवस्था र जनजीवन सामान्य भएपछि मात्रै विद्यालय सञ्चालन गरिनेछ ।

विदुर नगरभित्रका ८३ विद्यालयमध्ये करिब एक दर्जन विद्यालय बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाका अनुसार चार विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढीको सूचना पाए पनि प्रभाव यति ठूलो हुने अनुमान गरिएको थिएन। उहाँले अहिलेको असामान्य अवस्थाका कारण केही समयपछि वैकल्पिक माध्यमबाट पठन-पाठन सञ्चालन गर्ने योजना बनाइने बताउनुभयो ।

Back to top button