विराटनगरमा डेराको कोठाभित्र एक पुरुष मृत फेला

विराटनगर । विराटनगर महानगरपालिका–१६ मा डेरा गरी बस्दै आएका एक पुरुष आफ्नै कोठाभित्र मृत फेला परेका छन्। कोठाबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय अमोद लामाको घरमा डेरा गरी बस्ने ४८ वर्षीय बब्लु श्रेष्ठ शुक्रबार बिहान मृत फेला परेका हुन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार श्रेष्ठ बस्ने कोठाबाट दुर्गन्ध आइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा पुगेको टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा कोठाको ढोका खोलेर हेर्दा श्रेष्ठको शव फेला पारेको हो । कोठाको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा थियो । प्रहरीका अनुसार श्रेष्ठ फ्रिजमा टाँसिएर लडिरहेको अवस्थामा मृत भेटिएका थिए । श्रेष्ठको मृत्यु दुई–तीन दिनअघि नै भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

घटनास्थलको अवस्था हेर्दा फ्रिज खोल्ने क्रममा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ । यद्यपि, मृत्युको वास्तविक कारण खुलिसकेको छैन । प्रहरीका अनुसार सिटी सफारी चलाउँदै आएका श्रेष्ठकी श्रीमती रोजगारीका सिलसिलामा दुबईमा छिन् भने छोरा काठमाडौँमा बस्दै आएका छन्। घटनाको जानकारी पाएपछि उनका छोरा विराटनगर आउँदै गरेको प्रहरीले जनाएको छ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । इन्स्पेक्टर घिमिरे नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। मृत्युको यकिन कारण पोस्टमार्टम र अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

Back to top button