कोशीमा योजना आयोगका दुई सदस्यद्वारा शपथ ग्रहण

विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त दुई सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आयोगको सदस्यमा नियुक्त हुनुभएका तोयानाथ खतिवडा (रुपेश) र हरिकुमारी राईलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो शपथ समारोह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको थियो ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विराटनगर–३ निवासी खतिवडा र खोटाङकी राईलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघि सत्ता गठबन्धनका तर्फबाट नियुक्त नेपाली कांग्रेसनिकट दुई सदस्यले राजीनामा दिएपछि आयोगमा पद रिक्त थियो । रिक्त स्थानमा नयाँ सदस्य नियुक्त गरिएको हो ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले असोज २२ र २३ गतेका लागि निर्धारित मुख्यमन्त्री सम्मेलनको मिति पनि परिवर्तन गरेको छ । अब सम्मेलन असोज २७ र २८ गते आयोजना हुने निर्णय भएको छ ।

Back to top button