
रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य ५० जना बेपत्ता भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उक्त घटनालाई रुस–युक्रेन युद्धकै सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताउनुभएको छ । स्थानीय प्रशासनका अनुसार जापोरिजिया क्षेत्रको कोमिशुभाखा नगरस्थित उक्त भवनमा सर्वसाधारणले आश्रय लिइरहेका थिए । भवनलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा समेत प्रयोग गरिएको थियो ।
स्थानीय गभर्नर मिखाइलो सेमिकिनका अनुसार भवनको भूमिगत भागमा युरोपेली संघको आर्थिक सहयोगमा निर्माण गरिएको बलियो आश्रयस्थल थियो । गत वर्ष निर्माण गरिएको उक्त संरचना अधिकांश हवाई आक्रमणको प्रभाव सहन सक्ने गरी बनाइएको थियो । तर, शक्तिशाली बमको प्रहारबाट कङ्क्रिट संरचना भत्किएपछि आगलागीसमेत भएको थियो ।
युद्धका कारण विद्यालय सञ्चालन हुन नसकेपछि उक्त भवनलाई स्थानीय प्रशासनिक कार्यालय र मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग गरिँदै आएको थियो । आक्रमण हुँदा त्यहाँ स्थानीय बासिन्दा राहत सामग्री लिन भेला भएका थिए ।
युक्रेनस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले मंगलबार जारी गरेको वक्तव्यमा आक्रमण भएको समय र स्थानबारे सर्वसाधारणलाई पहिल्यै जानकारी गराइएको उल्लेख गरेको छ । मिसन प्रमुख ड्यानियल बेलले मानवीय सहायता वितरण भइरहेको जानकारी रुसी सेनालाई भए पनि आक्रमण गरिएको वा आक्रमण गर्नुअघि आवश्यक सावधानी नअपनाइएको हुन सक्ने बताउनुभएको छ । उहाँले घटनाले अन्तर्राष्ट्रिय मानवीय कानुनका आधारभूत सिद्धान्त उल्लङ्घन गरेको देखिने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
आक्रमणस्थलमा उद्धारकार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीसमेत मारिएका छन् । पहिलो आक्रमणपछि उद्धारका लागि घटनास्थल पुगेका दुई उद्धारकर्मीको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । युक्रेनी प्रहरीले आफ्ना चार अधिकारी पनि मारिएको जनाएको छ । उनीहरू भूमिगत आश्रयस्थलमा सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान सहयोग गरिरहेका थिए ।
युक्रेनी प्रहरीका अनुसार पहिलो आक्रमणपछि उद्धार गर्न पुगेका र त्यहाँबाट बाहिर निस्कने प्रयास गरिरहेका मानिसहरू दोस्रो आक्रमणमा परेका थिए । स्थानीय प्रशासनका अनुसार रुसले आक्रमणमा केएबी–५०० र एफएबी–३००० प्रकारका बम प्रयोग गरेको थियो ।







