
विराटनगर। नेकपा एमाले कोशी प्रदेश सचिवालय कमिटी सदस्य एवम् विराटनगर महानगरपालिकाका इञ्चार्ज पर्शुराम बस्नेतले एमालेको प्रमुख माग विघटित प्रतिनिधिसभाको पुनर्स्थापना रहेको बताउनु भएको छ। आज विराटनगरमा एमालेका ६ पालिका कमिटीको आयोजना सम्पन्न बृहत् मोटरसाइकल र्याली पछिको कोणसभामा बोल्दै बस्नेतले संविधानले नचिन्ने बाटोबाट निर्मित सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापनापछि मात्रै देशले वैधानिक निकास पाउने बताउनु भएको हो।
उहाँले संविधानले नदेखाएको बाटोबाट निर्मित सरकारले भदौ २३ गतेको जेन-जीहरूको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गर्ने र भदौ २४ गते व्यवस्था विरोधी अराजक गतिविधिमा संलग्नलाई कारबाही नगर्न परिपत्र जारी गरेर सरकारले अराजकतालाई प्रश्रय दिएको आरोप समेत लगाउनु भएको थियो।
‘आन्दोलनमा राजनीतिक दलको कार्यालय आगजनी गरेर, पुष्पलाल, बिपी र मदनको शालिक तोड्नेलाई कारबाही गर्न जरुरी छ’, बस्नेतले भन्नु भयो, ‘ प्रहरी कार्यालय जलाउने र प्रहरी मार्नेलाई कारबाहीको दयारामा नल्याए सम्म शान्तिपूर्ण चुनाव हुँदैन’।
त्यस्तै, कोणसभामा बोल्दै एमाले उपाध्यक्ष गुरु बरालले एमालेले असंवैधानिक सरकार विरुद्ध देश र जनतामा खबरदारी गर्दै देशलाई संवैधानिक बाटोमा फिर्ता ल्याउने उद्देश्यसाथ देशभरिकै पालिकाबाट आन्दोलन सुरु गरेको धारणा राख्नु भएको थियो। उहाँले एमालेले पालिका देखि जिल्ला, प्रदेश, केन्द्रस्तरमा समेत आन्दोलन जारी राख्ने बताउनु भएको थियो।
नेकपा एमाले विराटनगर महानगरका सचिव विज्ञान चापागाईंले नेकपा एमाले महानगर कमिटी विराटनगर, नेकपा एमाले पालिका कमिटी बुढीगंगा, ग्रामथान, कटहरी, धनपालथान र जहदाद्वारा संयुक्त रुपमा आयोजित बृहत् मोटरसाइकल र्याली एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमाबाट रोडशेष हुँदै मेनरोड, तीनपैनी भएर पुष्पलाल चोकमा पुगेर कोणसभामा गर्दै सम्पन्न भएको जानकारी दिनु भएको थियो।







