
विराटनगर । विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिकै आज साँझ भएको सवारी दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ ।
कोशी राजमार्गअन्तर्गत विराटनगर–३ बरगाछी चोक नजिक भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका– १ की ४५ वर्षीया रोहिता अधिकारी (कोइराला) को मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
उत्तर कञ्चनबारीबाट दक्षिणतर्फ आउँदै गरेको डब्लुबी ५९ सी ०२४८ नम्बर भारतीय ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई साँझ ५ः १५ बजेतिर ठक्कर दिएको थियो ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलको पछाडि सवार अधिकारी गम्भीर घाइते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा ५ : ४० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक मृतकका श्रीमान् ५७ वर्षीय विमल कोइराला सामान्य घाइते भएकाले उहाँको अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै,ट्रक र ट्रक चालक भारत बिहारको सिमान्त जिल्ला बडहरियाका ४० वर्षीय कन्हैया यादवलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।







