
काठमाडौं । प्रसिद्ध अभिनेता तथा हिन्दी सिनेमाका ‘ही–म्यान’ धर्मेन्द्र देवल उपचारपछि आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारपछि उहाँ घर फर्किनुभएको हो ।
धर्मेन्द्रलाई श्वासप्रश्वास र निमोनियाका कारण करिब तीन हप्ताअघि अस्पताल भर्ना गरिएको थियो । ब्रीच क्यान्डीमा धर्मेन्द्रको उपचारमा खटिएको चिकित्सक टोलीका एक डा.प्रीत सम्दानीले बीबीसी हिन्दीलाई बताएअनुसार धर्मेन्द्रलाई बुधबार बिहान ब्रीच क्यान्डी अस्पतालबाट घर लगिएको हो।
यसअघि मंगलबार धर्मेन्द्रकी छोरी ईशा देवल र श्रीमती हेमा मालिनीले मिडियामा उहाँको ‘मृत्यु’को बारेमा गलत समाचार प्रसारित भएपछि कडा असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
धर्मेन्द्रकी श्रीमती, अभिनेत्री तथा सांसद हेमा मालिनीले इन्स्टाग्राममा लेख्नुभएको थियो,‘जे भइरहेको छ त्यो अक्षम्य छ! जिम्मेवार च्यानलहरूले उपचारमा प्रतिक्रिया दिइरहेको र निको भइरहेको व्यक्तिको बारेमा कसरी गलत समाचार फैलाउन सक्छन्?’
उहाँले अगाडि लेख्नुभएको थियो,‘यो अत्यन्तै अनादरपूर्ण र गैरजिम्मेवारपूर्ण छ । कृपया परिवार र उनीहरूको गोपनीयताको सम्मान गर्नुहोस्।’







