
विराटनगर । दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले श्रीलंकालाई ९ विकेटले हराएको हो । श्रीलंकाले दिएको ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । श्रीलंकाले दिएको ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि ओपनर मानकेशरी चौधरीले २२ बलमा ६१ रनको अविजित पारी खेल्नुभयो । उहाँ दृष्टिविहिन क्रिकेटमा पहिलो अर्धशतक बनाउने महिला खेलाडी बन्नुभयो । यस्तै, सबन्दा पुनले ८ बलमा १३ रन बनाउनुभयो । सुस्मा तामाङ ४ रनमा अविजित रहनुभयो ।
श्रीलंकाको लागि सान्दनी साउमायाले १३ रन र मिहिरानी दुलान्जलीले २३ रन बनाउनुभयो । अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
नेपालको लागि बलिङतर्फ कान्ति योगी चौधरीले सर्वाधिक ३ विकेट लिनुभयो । विनिता पुन र लक्ष्मी लामाले १–१ विकेट लिनुभयो ।
नेपालले दोस्रो खेल भारतसँग शुक्रबार खेल्नेछ । भारतले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो।







