
काठमाडौं । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै चिकित्सकहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो ।
घटना घटेको पाँच दिन बितिसक्दा समेत दोषीलाई पक्राउ गरी कारबाही गर्नुको साटो, उल्टै न्याय माग्न गएकाहरुमाथि दुव्र्यवहार भएको संघका अध्यक्ष डा. बद्री रिजालले बताउनुभयो । राज्यले आफूहरुको माग तत्काल सम्बोधन गरे आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु तत्काल फिर्ता हुने उहाँले जानकारी दिनुभयो । चिकित्सक सुरक्षित भएर काम गर्न पाउनु पर्ने संघले जनाएको छ ।







