विराटनगर महानगरको सरसफाई अभियान जारी, सबै वडामा विस्तार गरिने

विराटनगर । गत शनिवारबाट विराटनगर महानगरपालिकाको अगुवाइमा सुरु भएको सरसफाइ अभियानलाई यो साता पनि जारि राखिएको छ । शनिवार दुई घण्टा महानगरको सरसफाईका लागि छुट्याउन अपिल गर्दै सुरु भएको अभियानले आज पनि निरन्तरता पाएको हो ।

विराटनगरलाई सफा र हराभरा बनाउने उद्देश्यका साथ उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा शनिबार दोस्रो साताको सरसफाइ गरिएको छ । अभियानअन्तर्गत विराटनगर–इटहरी सडकखण्डको मुनालपथदेखि दक्षिण क्षेत्रको सडक डिभाइडर तथा त्यहाँ रोपिएका बिरुवा आसपासको क्षेत्रमा सरसफाइ गरिएको छ ।

अभियानमा महानगरपालिकासँगै नेपाल फूलबारी, स्वास्थ्य र शान्तिका लागि वातावरण, सगरमाथा मल्टि सर्भिस, गो ग्रीन विराटनगर तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि र स्थानीयको उल्लेख्य सहभागिता थियो।

उपप्रमुख कार्कीले साझेदार संस्थाले नियमित फोहोर संकलनको काम गरिरहेको भए पनि नागरिकलाई आफ्नै घर–आँगन सफा राख्न सचेत गराउन अभियान थालिएको बताउनुभएको छ । नगरको सरसफाईमा सम्पूर्ण नगरबासीलाई जागरुक हुनुपर्छ भन्दै त्यसैकै सचेतना फैलाउन अभियान चलाइएको उहाँले बताउनुभयो ।

हाल सडक डिभाइडर क्षेत्रमा केन्द्रित यो अभियान छिट्टै सबै वडामा विस्तार गरिने उपप्रमुख कार्कीले जानकारी दिनुभयो । सडक डिभाइडरको काम आगामी साता सकिएपछि महानगरका १९ वटै वडाका टोल र गल्लीहरूमा पुगेर फोहोर व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

महानगरलाई उत्तर, मध्य र दक्षिण गरी तीन क्षेत्रमा विभाजन गरेर वडाध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय क्लब तथा संघसंस्थासँग समन्वय गरी एकैसाथ व्यापक रूपमा अभियान अघि बढाउने तयारी भइरहेको उपमेयर कार्कीले बताउनुभयो ।

Back to top button