जसपाको आधिकारिता विवाद आज टुङ्गिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिताबारे देखिएको विवाद आज टुङ्गिने भएको छ । निर्वाचन आयोगले आज यस विषयमा निर्णय गर्ने भएको हो ।

आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका कार्यकारिणी समितिका सदस्यलाई नागरिकतासहित उपस्थित हुन भनेको छ। आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको टाउको गनेर पार्टी आधिकारितासम्बन्धी निर्णय गर्ने भएको छ ।

निर्णयको सम्भावित परिदृश्यसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले छुट्टाछुट्टै बैठक राखी रणनीति तय गर्दैछन् ।

यादव पक्षले आइतबारदेखि नै आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको छ।

संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईलगायतले प्रशिक्षण दिनुभएको छ । गएराति अवेरसम्म चलेको बैठक आज पुनः बैठक बसी सिधै निर्वाचन आयोग लैजाने यादव पक्षको तयारी छ ।

यता ठाकुर पक्षले पनि हिजो बैठक राखेको थियो। बैठकमा आयोगको सम्भावित निर्णय तथा त्यसपछिको रणनीतिबारे छलफल भएको एक नेताले जानकारी दिनुभएको छ ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ। संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ। कमजोर देखिएको ठाकुर पक्षले सर्वोच्चमा हेडकाउन्ट रोक्न अन्तरिम आदेश माग गरेको थियो ।

त्यसलाई सार्वेच्चले अस्वीकार गरेको छ । यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाए पनि उनीहरू सहमत नभएपछि आयोगले इजलासबाट निरूपण प्रकृया अघि बढाएको थियो।

Back to top button